कुरो हाम्रा कान्छा बाको एकमात्र सुपुत्र ठुलेको परिवारको हो।
ठुलेले पहाडतिरबाट एउटी तल्लाजातकी हुनेखानेकी छोरी भगाएर ल्यायो। खूब ‘पिरेम’ बसेको रे। ठुले कन्याकै गाउँतिर सानोतिनो काम गर्दैथ्यो। सात कक्षामा पढ्दा पढ्दै लौ भागौँ भनिछ। बीसको लक्का केटो बिहे गर्ने रहर छँदैथियो उसले पनि नकारेन। घर लिएर आयो तर साना जातकी भनेर आमाले लघारिन्। त्यसपछि उनीहरू छेउछाउतिरै डेरा लिएर बसे। कुरकरे बैँसको बेला, भरखरको बिहे अनि स्वतन्त्रता। यस्तो राम्रो मौका कहिले आउँथ्यो र। ठुलेले कमाएको थोरै र ठुलीले भाग्दा कुम्ल्याएको जम्मा गरेको पैसाले दुईचार महिना रमाइलो गर्न पुग्यो।
आउने बाटो बन्द हुँदा र जाने हजार हुँदा पैसा नाथेले कति धानोस्। डेरा बसेर मस्ती गर्ने समय सकियो तर भोकतिर्खा मेटिएन। ठुली कम्ताकी खर्चालु थिइन। केटी लिएर भागेका कारण भएको सानो जागिर पनि खुस्किसकेको थियो। धेरै पटक कोसिस गर्दा पनि आमाले अझै घर छिर्न दिइनन्। ठुलेको टेन्सनको पारो चढ्दै गयो। रिनपान गरेर चलाउँदै गर्दा आमा बुढीको तीर्थब्रतमा निस्किने समय भयो। घरमा ताला मारेर छिमेकीलाई हेरचाहको जिम्मा लाउन खोज्दा जिम्मा लिएनन्। छोराबुहारी नजिक हुँदाहुँदै तिम्रो घर हेर्न हाम्लाई के खाँचो भनिदिए। त्यतिकै छोड्नुभन्दा छोरालाई जिम्मा लगाएर जानु नै मुनासिब ठानिन्। ठुलेठुलीलाई गजबको मौका मिल्यो। आमा हिँडेकै दिन डेरा छोडेर घरभित्र छिरे।
घर भनेको घरै हुन्छ। दुईचार मुरी अन्न छँदैथियो। बारीमा तुलफूल छँदैथियो। मधुमास फेरि आयो। जम्मा भएको सकिँदै गएपछि फेरि अप्ठ्यारा दिनहरू आए। घर-छिमेक काम व्यबहार जस्ता विषयहरूले चेप्दै गए। सानातिना काम गरेर ठुलेले गर्जो टारिरह्यो। तर हुनेखानेकी छोरी खर्चालु ठुलीलाई दालभात-तरकारी बाहेक चटपटे, सिनेमा र नयाँ कपडा पुर्याउनु चानचुने कुरा थिएन। ठुलेको कमाइ डोकामा पानी खन्याएजस्तै भयो। अनि छोटै समयमा एक हातमा टुपी, एक हातमा चुल्ठो हुन सुरू भयो।
छिमेकीले भने- “मायापीर्ती पछिको घरबार यस्तै हुन्छ, पहिले चाटाचाट पछि काटाकाट। एउटाको अर्कोसँग डर र भर नभएपछि रडाको नभए के हुने?” अब कहिले ठूले हाम्रा घर झोक्राउँदै आउने, कहिले ठुली डाको छोड्दै। हाम्रा लागिचाहिँ दिनमा एकपल्टलाई वकालत गर्ने बिषय बन्न थाल्यो।
यो क्रम धेरै दिनसम्म चल्न पायो। तीर्थ गएकी आमाले पनि समय लगाइन्। जोइपोइलाई गृहश्थीका उतारचढावहरू अनुभव गर्न पर्याप्त समय मिल्यो।
सानातिना ठाकठुक पर्दा मिलिहाल्थे। तर एक दिनचाहिँ अरू दिनभन्दा ठूलो काण्ड परेछ। स्वास्नी हराई खोज्न साथी पठाइदिनु भन्दै ठुले हाम्रोमा आयो। आपत्ति नै पर्या हो कि भनेर हामीले हाम्रो कान्छालाई पठायौँ। कुरा सामान्य होला भनी हामीचाहिँ सुत्यौँ। मध्यराततिर मात्र कान्छो घर आएर सुतेछ। गाँठी कुरा त भोलिपल्ट बिहानमात्र थाहा पाइयो।
सानातिना ठाकठुक पर्दा मिलिहाल्थे। तर एक दिनचाहिँ अरू दिनभन्दा ठूलो काण्ड परेछ। स्वास्नी हराई खोज्न साथी पठाइदिनु भन्दै ठुले हाम्रोमा आयो। आपत्ति नै पर्या हो कि भनेर हामीले हाम्रो कान्छालाई पठायौँ। कुरा सामान्य होला भनी हामीचाहिँ सुत्यौँ। मध्यराततिर मात्र कान्छो घर आएर सुतेछ। गाँठी कुरा त भोलिपल्ट बिहानमात्र थाहा पाइयो।
साँझ खाना खाने बेलामा के कुरामा कचपच पर्या’थ्यो ठुलेले झप्पु हानेछ। त्यही तोडमा झुण्डिएर मर्छु भनी ठुली डोरी लिएर बाहिर हानिइछ। रिसको झोँकमा जा मर् भनेर छोडिदिएछ। आइमाईको घुर्की न हो रात छिप्पिएपछि डरले छुलछुली हुँदै भित्र आइहाल्छे नि भन्दै कुरेर बसेछ। धेरै बेरसम्म नफर्केपछि यताउता नजिकको जङ्गलसम्म पुगेर हेरेछ। कतै नदेखिएपछि लौ साँच्चै झुण्डिई कि क्या हो भन्ठानेर हारगुहार गर्न दौडेर आएको रहेछ।
पछि दुई भाइ भएर राती अबेरसम्म वरपर र जङ्गलको भित्रसम्म रूख-रूखमा टर्चलाइट बालेर हेरेछन्। ठुलीको पत्ता लागेनछ। हैरान भएपछि फेरि घरमा आएर पर्खेछन्। गाउँघरमा सोधीखोजी गर्दा त्यतिकै हल्ला मच्चिएला भनेर चुपचाप बसेछन्। त्यस्तो स्थितिमा एक्लै छोड्न मन नलागेर कान्छाले पनि ठुलेसँगै बस्नुपर्ने भएछ। भोलि बिहान जे गर्नुपर्ने गरौँला भनेर कान्छाले ठुलेलाई पनि सुत्न लगाएछ।
बेलाबेला मारामार परेर के भो र। प्रेम गरेर भगाएर ल्याएकी स्वास्नी हराउँदा ठुलेलाई भतभती पोलिरह्यो। ब्यर्थमा झापड हानेछु भनेर पछुतो पनि लाग्यो। साँच्चै झुण्डिएकी भए वियोगको चोट मात्र हुन्थ्यो र। अनेक खालका अभियोग पनि त लाग्थ्यो नि। अहिलेसम्म जहाँसुकै मरोस् उमेर नपुगी पोइल जाने छँडुली भनेर बसेका ठुलीका जुँगामुठे दाजु र भिनाजुहरू लाठो लिएर नआउलान् भन्ने कुरै थिएन।
ठुलेको खाइखुइले कान्छो पनि सुत्न सकेन। ठुले भुट्भुटिन्थ्यो अनि कान्छालाई रिस उठ्थ्यो। बिहे गरेका मान्छेको पिडा ऊ नगरेकालाई के थाहा। “सुत् साले, तेरी बूढी मरेकी छैन” भनेर पटक पटक हकार्यो।
कात्तिके रात। मौसम रमाइलो थियो। आखिरमा भोलि त छँदैछ नि भन्ने कुराले थाकेको शरीर झकाउन वाध्य भयो। झप्प पहिलो चोटि आँखा के लागेका थे कतैबाट भ्वाँक्क पादेको आवाज आयो। “ओड्नेभित्र पाद्छस्? गनायो भने झार्छु खाटबाट”, कान्छाले हपार्यो।
“कहाँ हुनु मैले, साले”, ठुलेले प्रतिवाद गर्यो। निद्रा रामैसित लागिसकेकोले दुबैले अरू खोजी गरेनन्।
“टु...इ...याँ...”। अर्को आवाज। अघिको भन्दा चर्को, प्रष्ट र बिलकुल हाँसउठ्दो। योचाहिँ खाटमाथिको होइन भन्ने दुबैलाई पक्का भयो।
“खाटमुनि पक्कै कोही छ”, कान्छोले भन्यो। “तर हल्ला नगर् है, बिस्तारै हेरौँ”।
कान्छोले सुस्तरी उठेर खाटमुनि टर्च बालेर हेर्यो। ठुली त खाली भुइँमा लमतन्न मस्त निद्रामा थिई। वरिपरि काँचा सप्रेका भटमासका झाङ्ग र खोस्टा छरपस्ट थिए। कान्छाले हाँसो थाम्न सकेन। “तेरी स्वास्नीलाई उठाएर खाटमा लैजा” भन्दै ऊ करायो। ठुले पनि गडगडाएर हाँस्न थाल्यो। स्वास्नी भेटिनुको मजा एकातिर, भेटिँदाको अवश्था अर्कोतिर। ठुली भने निदाइरही।जोइपोइलाई त्यही हालतमा छोडेर कान्छो बाहिरियो।
यो सुनेपछि हामी कति हाँस्यौँ पत्तै भएन।
“ऊ डङ्गर डङ्गर सेनिमा हेर्न गा’का बेलामा सासूले लाइदिया भटमास अहिले चैँ काम लागेछन् नखरमाउलीलाई?” हाम्री हजुरामाको टिप्पणीचाहिँ यस्तो थियो।
